काठमाडौं – प्रतिनिधिसभा का उपसभामुख पदका लागि पर्सि शुक्रबार चैत २७ गते चुनाव हुने भएको छ । आज बसेको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले निर्वाचन मिति तोक्नुभएको हो । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । तर प्रतिनिधिसभामा एकल उम्मेदवारी परेको वा विशेष परिस्थिति भएमा दुवै पद एउटै दलबाट पनि हुन सक्ने प्रावधान रहेको छ ।
हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको प्रतिनिधित्व छ । २७५ सदस्यीय सदनमा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेपाल कम्युनिस्ट पार्टी का १७, श्रम संस्कृति पार्टी का ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सांसद छन् ।
संसदीय अंकगणित अनुसार रास्वपाले जसलाई समर्थन गर्छ, सोही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।







