युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । तर यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले तत्कालै पाउने सम्भावना भने न्यून देखिएको छ ।

डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेसँगै बन्दजस्तै रहेको होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षाले तेलको मूल्य घटेको हो । अमेरिकी कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९६.३१ डलर पुगेको छ भने ब्रेन्ट क्रुड १३ प्रतिशतले झरेर ९५.३६ डलरमा आएको छ ।

यद्यपि, नेपालमा भने मूल्य तत्कालै नघट्ने संकेत नेपाल आयल निगम ले दिएको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार कच्चा तेल र नेपालले खरिद गर्ने प्रशोधित तेलको मूल्यबीच ठूलो अन्तर रहेको छ ।

उनका अनुसार अहिले कच्चा तेल करिब १०० डलर आसपास हुँदा पनि डिजेलजस्ता प्रशोधित तेलको मूल्य ३०० डलरसम्म पुगेको छ, जुन सामान्य अवस्थाको भन्दा निकै बढी अन्तर हो । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो भए पनि नेपालले किन्ने दर तुरुन्तै नघट्ने अवस्था रहेको उनले बताए ।

सरकारले करमा ५० प्रतिशत छुट दिए पनि निगम अझै घाटामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटर करिब ३४ रुपैयाँ र डिजेलमा १२० रुपैयाँसम्म घाटा रहेको जनाइएको छ । कर छुटले केही राहत दिए पनि निगमको ठूलो घाटा पूर्ति गर्न पर्याप्त नभएको ठाकुरको भनाइ छ ।

अब इन्डियन आयल कर्पोरेसन बाट आउने नयाँ मूल्यसूचीपछि मात्रै नेपालमा इन्धनको भाउ घट्ने वा नघट्ने स्पष्ट हुने देखिन्छ । त्यसैले विश्व बजारमा आएको मूल्य गिरावटको असर नेपाली बजारमा तत्काल देखिने सम्भावना कम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्