महोत्तरी – महोत्तरीमा भएको सवारी दुर्घटना भयावह बनेको छ । जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा क्षेत्रमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको ज्यान गएको छ भने थप तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेका मोटरसाइकल आपसमा ठोक्किएपछि दुबैमा आगो लागेको थियो । आगलागीका कारण घटनास्थलमै तीन जनाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको बताउनुभयो । दुर्घटनामा संलग्न मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नचिनिने अवस्थामा पुगेको जनाइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा परेका सबै विद्यार्थीहरू एसईई परीक्षा दिएर घर फर्किंदै गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।







