बुधवार सुदूरपश्चिम र कर्णालीमा ठुलो वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा वर्षा र हिमपातको गतिविधि बढ्ने संकेत गरेको छ । विशेषगरी आगामी बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बढी सक्रिय हुने र ठूलो वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आजदेखि नै पहाडी तथा हिमाली क्षेत्रको मौसम प्रभावित रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

आज रातिदेखि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । यस्तै, बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि आंशिक प्रभाव देखिन सक्ने बताइएको छ ।

भोलि देशभरको मौसममा खासै परिवर्तन नआउने अनुमान गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा बदली कायम रहने र केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । साथै, कोशी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

तर, पर्सि बुधवारदेखि भने मौसम अझ सक्रिय हुने महाशाखाको भनाइ छ । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिनभरजसो बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।

यसबाहेक, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ ।

तराई क्षेत्रमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले यात्रा, कृषि कार्य तथा दैनिक गतिविधिमा विशेष सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्