काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु ले चेन्नई सुपर किंग्स लाई ४३ रनले पराजित गरेको छ । एम चिन्नास्वामी रंगशाला मा भएको खेलमा बैंगलुरुले दिएको २५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २०७ रन बनाउँदै अलआउट भयो । बैंगलुरुका भुवनेश्वर कुमार ले ३ विकेट लिए भने ज्याकोब डफी, अभिनन्दन सिंह र क्रुनाल पाण्ड्या ले समान २/२ विकेट लिए । सुयाष शर्मा ले १ विकेट लिए । चेन्नईका लागि सरफराज खान ले सर्वाधिक ५० रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २५० रन बनाएको थियो । जितसँगै बैंगलुरुले ४ अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ भने चेन्नई तीन खेलमा लगातार हार बेहोर्दै अंकविहीन रहेको छ । यसैबीच, अर्को खेलमा लखनउ सुपर जायन्ट्स ले सनराइजर्स हैदरावाद लाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । ऋषभ पन्त को अर्धशतकमा लखनउले १५७ रनको लक्ष्य १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । तीन खेल खेलेको हैदरावाद तालिकाको पाँचौँ स्थानमा छ भने लखनउ २ अंकसहित सातौँ स्थानमा उक्लिएको छ । आईपीएलअन्तर्गत आज पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स बीच खेल हुँदैछ । इडेन गार्डन क्रिकेट रंगशाला मा हुने उक्त खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।







