काठमाडौं – नेपाल आयल निगम ले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णयलाई नागरिकले सहयोग गर्नुपर्ने निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुर ले बिदाको अवसरमा अनावश्यक रूपमा सवारी प्रयोग नगर्न आग्रह गर्दै इन्धन बचतमा सबैको भूमिका आवश्यक रहेको बताउनुभयो । “बिदा पायौँ भनेर घुम्न जानुभएन, जसरी भए पनि इन्धन खपत कम गर्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार हाल निगमलाई प्रतिलिटरमा करिब १२० रुपैयाँ घाटा भइरहेको छ ।
पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट बढ्दै गएपछि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । साथै डिजेल तथा पेट्रोल सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानुनी सुधार गर्ने निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिनुभएको छ । निगमको तथ्याङ्कअनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । प्रवक्ता ठाकुरले यस निर्णयको प्रभाव मूल्याङ्कन गर्न केही समय लाग्ने बताउँदै एक सातापछि मात्रै स्पष्ट तथ्याङ्क आउने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार निजी विद्यालयहरूमा सवारी प्रयोग बढी हुने भएकाले इन्धन खपत उच्च छ । साथै हाल एसइई परीक्षा सञ्चालन भइरहेकाले सवारी चाप अझ बढेको छ । परीक्षा सकिएपछि खपतमा स्पष्ट परिवर्तन देखिने अपेक्षा गरिएको छ । यसैबीच अर्थशास्त्रीहरूका अनुसार सरकारको निर्णय तत्कालका लागि आवश्यक भए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने देखिएको छ । अर्थशास्त्री इसान खरेल ले इन्धनमा लगाइने कर केही घटाउनुपर्ने सुझाव दिँदै सार्वजनिक यातायात प्रवर्द्धन र विद्युतीय सवारी विस्तार गर्नुपर्ने बताएका छन् ।
अर्का अर्थशास्त्री सन्तोष अधिकारी ले वर्तमान अभावका सन्दर्भमा निर्णय उपयुक्त भए पनि यसले शैक्षिक गतिविधि र उत्पादकत्वमा असर पार्न सक्ने चेतावनी दिनुभएको छ ।







