काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले निजी मेडिकल तथा डेण्टल कलेज तथा अस्पतालहरूलाई पत्र पठाउँदै गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
सम्झौताअनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई नेपाल सरकारको कम्तीमा पाँचौँ तहको प्रारम्भिक तलब स्केलअनुसार हालको ३४ हजार ७ सय ३० रुपैयाँ कात्तिक महिनादेखि नै उपलब्ध गराउनुपर्नेछ । यस्तै, अन्य निजी तथा सामुदायिक अस्पताल र डेण्टल कलेजहरूले उक्त तलबको ८० प्रतिशत अर्थात् सोही आधारमा पारिश्रमिक उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले सम्बन्धित निकायहरूलाई अनुगमन गरी उक्त सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न र स्वास्थ्यकर्मीहरूको सेवा–सुविधा सुनिश्चित गर्न आग्रह गरेको छ ।







