काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ । आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले त्यसमा रहेको विवरण प्रविष्ट गरी अनलाइनमार्फतै नाम दर्ता गर्न सक्नेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने जानकारी दिएका छन् ।
यसका साथै, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा चुनाव मा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी रहेका थिए ।







