काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ। पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत उपसभामुखमा आफ्नो पार्टीले उम्मेदवार उठाउने जानकारी दिएका हुन्।
उनले सभामुख निर्विरोध चयन भएकोमा बधाइ दिँदै अब उपसभामुख चयनका लागि महिला उम्मेदवार अघि सार्ने बताएका छन्। “अब उपसभामुख चयनको निर्वाचन हुँदैछ, हामी महिला उम्मेदवार खडा गर्दैछौं,” उनले लेखेका छन्। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डीपी) अर्याल सभामुख बन्ने निश्चित भएको छ। उम्मेदवारी दर्ताको दिनमा उनको मात्र उम्मेदवारी परेपछि उनी आइतबार निर्विरोध चयन हुनेछन्।
संसदीय परम्पराअनुसार उपसभामुख पद प्रायः विपक्षी दललाई दिने अभ्यास रहँदै आएको छ। यस क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेका छन्।







