काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र असुरक्षित बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि विशेष उडान सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वबाट स्वदेश फर्कन चाहने नेपालीका लागि तीन दिनसम्म विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबार काठमाडौँ–दुबई उडान तथा शनिबार दुबई–काठमाडौँ उडान हुनेछ भने आइतबार काठमाडौँ-दमाम र सोही दिन दमाम–काठमाडौँ उडान सञ्चालन गरिने तय भएको छ।
प्रवक्ता क्षेत्रीले प्रि-बुकिङ गरिसकेका तथा स्वदेश फर्कन इच्छुक नेपालीलाई प्राथमिकतामा राखेर उद्धार गरिने बताउनुभयो। साथै सम्बन्धित देशका नेपाली नियोगको सिफारिसमा सीमित सङ्ख्यामा यात्रुलाई नियमित भाडादरमै टिकट उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिनुभयो।
यसअघि कुवेत एयरवेजमार्फत २९१ जना नेपाली नागरिकलाई स्वदेश ल्याइएको तथा विभिन्न कारणले ज्यान गुमाएका ९ जनाको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ। सरकारले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र व्यवस्थापन तीव्र पारेको जनाएको छ।







