काठमाडौँ – परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकहरूको उद्धारका लागि विशेष उडान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार नेपाल एयरलाइन्समार्फत आजदेखि तीन दिनसम्म चार वटा विशेष उडान सञ्चालन गरिनेछ। आज बेलुकी काठमाडौँबाट दुबईका लागि जहाज उड्ने तय भएको छ। उक्त उडानमा यसअघि टिकट बुक गरेका तथा स्वदेश फर्किन चाहने नेपालीहरूलाई समयमै सम्पर्क गर्न अनुरोध गरिएको छ।
भोलि दुबईबाट जहाज काठमाडौँ फर्किने कार्यतालिका छ भने पर्सि चैत २२ गते काठमाडौँबाट अर्को उडान दमाम (साउदी अरेबिया) पुगेर सोही दिन फर्किनेछ। खाडी क्षेत्रमा रहेका नेपाली दूतावासहरूका अनुसार विभिन्न देशबाट स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण संकलन भइरहेको छ र आगामी दिनमा थप व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
मध्यपूर्वमा जारी युद्धका कारण नियमित उडान प्रभावित हुँदा धेरै नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन्। सरकारको यो पहलले उनीहरूको उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







