काठमाडौँ – ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको संकटा मन्दिर परिसरमा आयोजित कार्यक्रममा दर्जनौँ व्यक्तिहरूले रक्तदान गरेका छन्।
जीवनदान प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदानसँगै स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा रक्त संकलनको व्यवस्थासमेत गरिएको थियो।

संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले रक्तदान जस्तो मानवीय कार्यमार्फत सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो योगदान हो। सहकारीको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
कार्यक्रम संयोजक तथा महिला उपसमिति संयोजक पार्वती पौडेल भट्टले रक्तदानलाई केवल परोपकारी कार्य मात्र नभई सामाजिक दायित्वको अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “रक्तदानले जीवन बचाउँछ, साथै समाजमा सहकार्य र मानवताको भावना मजबुत बनाउँछ। यस्ता कार्यक्रमले नागरिकमा जागरूकता अभिवृद्धि गर्ने विश्वास लिएका छौँ।”

सहकारीले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा यस्ता सामाजिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। यसले रक्तदानको महत्वबारे जनचेतना फैलाउनुका साथै स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसैबीच, संस्थाले चैत्र २० गते अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ भने २१ गते मानव सेवा आश्रममा खाना खुवाउने तथा आगामी चैत्र २७ गते नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहालमा ४० बर्ष कटेका पुरुषको प्रोस्टेट क्यान्सर परीक्षण शिविरसमेत आयोजना गर्ने जनाएको छ, जसमा प्राविधिक सहयोग बीर अस्पतालले प्रदान गर्नेछ।








