काठमाडौँ – गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो संसद् अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको एकराम गिरीले जानकारी दिनुभयो।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित कक्षमै बस्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाल कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।
आजको बैठकमा सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पढेर सुनाउनुहुनेछ। साथै प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही अघि बढाउने प्रस्ताव प्रस्तुत गरिनेछ।
सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गर्ने, दलगत आधारमा मन्तव्य राख्ने तथा सभामुख निर्वाचनको मिति तय गर्ने कार्यसूची पनि रहेको छ। पद्मप्रसाद पाण्डेयका अनुसार आजै सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ। हिजोको सर्वदलीय बैठकले आउँदो आइतबार सभामुख निर्वाचन गर्ने निर्णय गरेको छ। संवैधानिक व्यवस्थाअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ, जसमा एक महिला र फरक–फरक दलबाट हुनुपर्ने प्रावधान रहेको छ।






