काठमाडौँ – देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।
नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी सहभागी छन्। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मीसहित करिब ७३ हजार जनशक्ति परिचालन गरिएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ र आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षा आउँदो २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
यस वर्ष परीक्षा थप पारदर्शी र व्यवस्थित बनाउन विशेष व्यवस्था गरिएको छ। उत्तरपुस्तिका परीक्षण छिटोछरितो बनाउँदै एक महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षा सकिएको बढीमा तीन दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परीक्षण केन्द्रमा सिसिटिभी जडान, उत्तरपुस्तिका बाहिर लैजान नपाइने व्यवस्था, योग्य परीक्षकबाट मात्र परीक्षण हुने लगायतका प्रबन्धमार्फत अनियमितता रोक्ने प्रयास गरिएको छ। यसैबीच, यस वर्ष सामूहिक अनुगमनमा रोक लगाउँदै हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। परीक्षा तालिकाअनुसार भोलि अनिवार्य नेपाली, त्यसपछि क्रमशः गणित, विज्ञान, सामाजिक अध्ययन तथा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ।






