काठमाडौँ – पर्यटन अभियन्ता तथा समाजसेवी रामसुन्दर बकेलाई घरपझोङ गाउँपालिकाले जोमसोममा एक भव्य समारोहबीच स्वागत तथा सम्मान गरेको छ। गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बकेलाई सम्मान गर्दै ग्रामीण पर्यटन प्रवर्द्धन, प्राकृतिक सम्पदाको संरक्षण तथा दिगो पर्यटन विकासमा उहाँले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो।
सम्मान ग्रहण गर्दै बकेले मुस्ताङ जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र अपार सम्भावनाले भरिएको क्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँले भ्रमणका क्रममा यहाँको प्राकृतिक दृश्य, संस्कृति र स्थानीयवासीको आत्मीय व्यवहारले आफू गहिरो रूपमा प्रभावित भएको अनुभव सुनाउनुभयो।
उहाँले केवल भ्रमणमा सीमित नभई मुस्ताङको पर्यटन सम्भावनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न आफू कटिबद्ध रहेको धारणा राख्नुभयो। “यदि यहाँ आउने प्रत्येक पर्यटकले आफ्नो अनुभव र सौन्दर्यलाई विश्वसामु प्रस्तुत गर्ने हो भने मुस्ताङको प्रचारप्रसारका लागि कुनै कमी रहने थिएन,” उहाँले भन्नुभयो।
भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्ट, रानीकोट, भक्तपुरका अध्यक्षसमेत रहेका बकेले स्थानीय तह, समुदाय र पर्यटन व्यवसायीबीच सहकार्य सुदृढ गर्न सके मुस्ताङलाई अन्तर्राष्ट्रिय स्तरको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।






