काठमाडौँ – सपना प्रधान मल्लले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले उक्त जिम्मेवारी ग्रहण गर्नुभएको हो। नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ।
यसअघि न्यायपरिषदले मल्लसहित ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो। सूचीमा कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश छ। संवैधानिक व्यवस्थाअनुसार प्रस्तावित प्रधानन्यायाधीशले संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन पाएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति पाउने व्यवस्था छ।
तर प्रतिनिधिसभा विघटन भएका कारण हाल संवैधानिक परिषद् निष्क्रिय अवस्थामा रहेको छ। अब प्रतिनिधिसभाले सभामुख र उपसभामुख चयन गरी प्रमुख विपक्षी दलको नेता टुंगो लगाएपछि मात्रै परिषद्ले पूर्णता पाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्नेछ।






