काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा क्षेत्रीय समस्या समाधानका विषयमा छलफल गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले सुदूरपश्चिमको विकासलाई प्राथमिकतामा राख्दै देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले जानकारी दिनुभयो।
छलफलका क्रममा सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण तथा स्तरोन्नति, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, साथै हवाई सेवा विस्तारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो।
सांसदहरूले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने प्रधानमन्त्री शाहले आश्वासन दिनुभएको छ। यसअघि प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग पनि विकास र समन्वयका विषयमा छलफल गर्नुभएको थियो।






