काठमाडौँ – सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आउँदो बिहीवार चैत १९ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसो २ बजे संसद् अधिवेशन बोलाउन सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
बैठकले संविधान संशोधनको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ। यसका लागि संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गरिने भएको छ। उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि रहने व्यवस्था गरिने प्रवक्ता पोखरेलले बताउनुभयो।
संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले सबै दलको सहभागितामा कार्यदल गठन गरिएको सरकारको भनाइ छ। सरकारले यस कदमलाई समावेशी र सहमतिमा आधारित संशोधन प्रक्रियाको प्रारम्भका रूपमा लिएको जनाएको छ।







