काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले आउँदो वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गर्नुभएको हो।
मन्त्रालयका अनुसार विभिन्न कक्षा तथा उच्च शिक्षामा भर्ना लक्षित तयारी कक्षा र ब्रिज कोर्सको नाममा सञ्चालन हुँदै आएका कार्यक्रमहरू बन्द गरिनेछ। यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याउने र अभिभावक तथा विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थप्ने निष्कर्ष मन्त्रालयले निकालेको छ।
यससँगै, यस्ता कक्षाहरू सञ्चालन भएको पाइएमा अनुगमन गरी प्रचलित कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने मन्त्रालयले जनाएको छ।






