काठमाडौँ – तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाइएको छ। यो अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरु गरेको हो ।
सम्पत्तिमाथि अनुसन्धान गर्ने सिलसिलामा आज बिहान पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको हो। खड्कामाथि अनुसन्धान गर्ने अनुमति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सीआईबीलाई पत्राचार गरेर दिएको थियो। सीआईबीले खड्कालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट म्याद लिन लागेको छ।
प्रहरीले अनुसन्धान क्रममा पूर्वप्रधानमन्त्रीहरूको चल अचल सम्पत्ति, आम्दानीको स्रोत र वित्तीय गतिविधिहरूको विवरण संकलन गर्नेछ। यसैबीच, भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो भने पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो।
स्थानीय प्रशासनले पूर्वप्रधानमन्त्री देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ। सो भवनमा नयाँ संरचना बनाउने योजना भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनअनुसार भत्काउने कार्य रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले बताए। प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदारलाई पनि हटाएको छ।
भदौ २४ मा भएको प्रदर्शनकारीको आगजनीका क्रममा जलेको अवस्थामा भेटिएको अमेरीकी डलर र नेपाली रुपैयाँलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरेर सुरक्षित राखेको थियो। अनुसन्धानले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति स्रोत र वित्तीय गतिविधिको पूर्ण विवरण पत्ता लगाउने अपेक्षा गरिएको छ।






