चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले चैत्र १९ गते बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने

काठमाडौँ – ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जीवनदान प्रवर्द्धन गर्ने उद्देश्यका साथ बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, महाबौद्ध, काठमाडौँको आयोजनामा यहि चैत्र १९ गते बिहिबार, संकटा मन्दिर परिसर, टेबहाल, काठमाडौँमा आयोजना हुने यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र सहकारी मूल्य–मान्यतालाई आम नागरिक माझ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

सहकारी संस्थाले यस कार्यक्रम मार्फत रक्तदानलाई जीवनदानको रूपमा प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहभागिता बढाउने योजना बनाएको जनाएको छ। कार्यक्रमका महिला उपसमिति संयोजक पार्वती पौडेल भट्टले जनताको सहयोग र सक्रिय सहभागितामा विश्वास व्यक्त गर्दै सबै नागरिक, संस्थागत प्रतिनिधि तथा विद्यार्थीहरूलाई रक्तदानमा सहभागी हुन आग्रह गरेकी छिन्। उनका अनुसार, “रक्तदान केवल जीवन बचाउने मात्र नभई सहकारी मूल्य–मान्यता र सामाजिक उत्तरदायित्वको अभ्यास पनि हो। यस कार्यक्रमले हाम्रो समाजमा साझा भलाइको भावना अझ मजबुत बनाउनेछ।”

यस अवसरमा कार्यक्रमस्थलमा रक्तदानका लागि आवश्यक व्यवस्थापन, स्वास्थ्य परीक्षण र रक्त संकलनका उपकरणहरू तयारी अवस्थामा राखिनेछन्। साथै सहभागीहरूलाई रक्तदानपछि स्वास्थ्य सल्लाह, प्रमाणपत्र र धन्यवाद पत्र वितरण गरिनेछ।

सहकारी संस्थाले रक्तदान कार्यक्रमलाई प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको प्रमुख कार्यक्रमका रूपमा आयोजना गर्दै आइरहेको छ। यस कार्यक्रमले रक्तदानको महत्वबारे जनचेतना बढाउने, स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने र सहकारी संस्थाहरूको सामाजिक दायित्व प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

यसैगरी चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चैत्र २७ गते शुक्रबार, बिहान १० बजेदेखि ४ बजेसम्म, नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहाल, काठमाडौँमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर आयोजना गर्ने भएको छ।

कार्यक्रममा स्वास्थ्य सेवा र प्राविधिक सहयोग बीर अस्पतालले प्रदान गर्नेछ। यस शिविरमार्फत महिलाहरूमा स्तन र पाठेघरको क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गराइ रोगको चाँडो पहिचान र उपचारको अवसर प्रदान गरिने उद्देश्य राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्