काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। यसअघि आजै प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गर्नुभएको थियो। नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकार सञ्चालनको जिम्मेवारी बाँडफाँड गरिएको छ। प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयसमेत आफ्नै जिम्मामा राख्नुभएको छ भने दोस्रो वरीयतामा रहनुभएका स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त हुनुभएको छ। तेस्रो वरीयतामा रहनुभएका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।
यसैगरी, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र खड्कराज पौडेल (गणेश) पर्यटनमन्त्री नियुक्त हुनुभएको छ। त्यसैगरी, सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ भने निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नुभएको छ। विक्रम तिमिल्सिना सञ्चारमन्त्री नियुक्त हुँदा प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रालय सम्हाल्नुभएको छ।
यस्तै, दीपक साह श्रममन्त्री, सोबिता गौतम कानुनमन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री नियुक्त हुनुभएको छ। शपथ ग्रहण समारोहमा वैदिक परम्पराअनुसार बटुकहरूद्वारा स्वस्तिवाचन तथा बौद्ध लामाहरूद्वारा मंगलवाचन समेत गरिएको थियो। नयाँ मन्त्रिपरिषद्सँगै देशले नयाँ राजनीतिक अध्यायमा प्रवेश गरेको विश्लेषण गरिएको छ।






