आज देशले नयाँ प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहलाई पाउने

Photo: RSS

आज देशले नयाँ प्रधानमन्त्री पाउने औपचारिक प्रक्रिया अघि बढ्दैछ। राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने विशेष समारोहमा रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। यसअघि उहाँलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ।

नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो। दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा हुने शपथ समारोहलाई विशेष बनाउने तयारी गरिएको छ। समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकद्वारा स्वस्ति शान्ति वाचन तथा १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने व्यवस्था मिलाइएको छ।

शपथग्रहणपछि प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब दिउँसो २:१५ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्न लाग्नुभएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ। मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम चरणको छलफल भइरहेको छ। संभावित मन्त्रीहरूको सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल, सुधन गुरुङलगायतका नाम चर्चामा रहेका छन्। नयाँ सरकार गठनसँगै देशको राजनीतिक स्थायित्व, सुशासन र विकासको अपेक्षा बढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्