काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार उद्घाटन खेल मार्च २८ मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ । प्रतियोगिताको दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न सहरमा अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना गरिनेछन् ।
यसअघि प्रारम्भिक २० खेलको तालिका मात्र सार्वजनिक गरिएकोमा बिसिसिआईले अब लिग चरणका बाँकी ५० खेलको तालिका पनि सार्वजनिक गरेको हो । प्रारम्भिक चरणका खेलहरू १० वटा मैदानमा खेलाइनेछन् भने त्यसपछिका खेलहरू बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ लगायतका सहरमा हुनेछन् ।
खेल तालिकाअनुसार दिउँसो हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेल बेलुकी पौने ८ बजे सुरू हुनेछन् । यस सिजनको आईपिएलमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।






