काठमाडौँ- नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ अधिवेशनमा अध्यक्षको कार्यकाल सकिएर हरि गौतमलाई नवनिवर्वाचित अध्यक्ष गिरिराज पोखरेलले बिदाइ गर्नुभयो । अध्यक्ष हरि गौतमलाई फर्केर हेर्दा उहाँको कार्यकाल संस्थागत रूपमा निकै सफल र उपलब्धिमूलक रह्यो। वि.सं. २०४७ सालमा स्थापना भएको संघले साना तथा मझौला व्यापारी, आयातकर्ता, निर्यातकर्ता तथा स्वदेशी उत्पादनमा आधारित व्यवसायीहरूको हक, हित र अधिकार संरक्षण गर्दै आएको सन्दर्भमा अध्यक्ष गौतमको नेतृत्वले यसलाई अझ सशक्त, क्रियाशील र प्रभावकारी बनाउने काम गर्यो। दुई वर्षका लागि निर्वाचित भए पनि झण्डै तीन वर्षसम्म नेतृत्व सम्हाल्दै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि संगठनलाई स्थायित्व र स्पष्ट दिशासहित अघि बढाए।
वि.सं. २०५५ सालदेखि संघको हित, उन्नति र संगठन विस्तारका लागि निरन्तर रूपमा समर्पित रहँदै आएका थिए । उहाँ साधारण सदस्यका रूपमा आफ्नो यात्रा प्रारम्भ गरी सल्लाहकार हुदैँ निर्वाचन प्रक्रियामार्फत चयन भई सचिव, महासचिव, उपाध्यक्ष तथा अध्यक्ष पदसम्म आइपुगेर संघको नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ । उहाँको दूरदर्शी सोच, सक्रिय नेतृत्व, संस्थाप्रतिको निष्ठा तथा व्यापारिक समुदायको हकहितका लागि निरन्तर गरिएको पहलले नेपाल व्यापार संघलाई अझ व्यवस्थित, सशक्त र प्रतिष्ठित संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको देखियो । उहाँको कार्यकाललाई संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, निवर्तमान अध्यक्ष कुमार कार्की, पूर्व अध्यक्ष सुकुन्द प्रधान र श्याम बजगाईले खुलेर प्रशसां गरेका थिए ।
उहाँको कार्यकालमा व्यापारी एकता र आपसी सम्बन्ध सुदृढीकरणका लागि बृहत् बनभोज तथा साधारण सभाजस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न भए, जसले व्यवसायीबीच सहकार्य र विश्वासलाई मजबुत बनायो। त्यस्तै, सरकारसमक्ष १४ बुँदे मागपत्र प्रस्तुत गर्दै स्वदेशी उत्पादन प्रवर्द्धन, बैंक व्याजदर एकल अंकमा सीमित गर्ने, कर तथा भन्सार प्रणाली सुधार गर्ने जस्ता महत्वपूर्ण नीतिगत पहलहरू गरिए। बैंक तथा वित्तीय संस्थाहरूको चर्को व्याजदर र लिलामी प्रक्रियाविरुद्ध संयुक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै साना तथा मझौला व्यवसायीका समस्यालाई राष्ट्रिय बहसको विषय बनाइएको थियो।
यसैगरी, अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणालीजस्ता अव्यवहारिक नीतिको विरोध, कर पीडित व्यवसायीको पक्षमा ऐक्यबद्धता, तथा केरुङ र तातोपानी नाकामा देखिएका समस्याको समाधानका लागि सरकारसँग निरन्तर पहल गरिनु उनका कार्यकालका उल्लेखनीय उपलब्धि हुन्। सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत संघलाई सक्रिय बनाउँदै तीज विशेष कार्यक्रम, सम्मान तथा कदरपत्र वितरणजस्ता गतिविधिमार्फत संस्थाभित्र समावेशी र सशक्त वातावरण निर्माण गरिएको थियो। साथै, नियमित बैठक, सदस्य विस्तार र संस्थागत प्रक्रियालाई विधिसम्मत रूपमा अघि बढाउँदै संघलाई व्यवस्थित र दिगो बनाउने प्रयास गरिएको थियो।
समग्रमा, कोरोना महामारी, आर्थिक संकट, राजनीतिक अस्थिरता र वित्तीय दबाबजस्ता चुनौतीपूर्ण अवस्थाबीच पनि अध्यक्ष हरि गौतमको नेतृत्व दृढ, परिणाममुखी र संघर्षशील रह्यो। उहाँको कार्यकाल केवल समयको हिसाबले मात्र होइन, उपलब्धि र प्रभावका हिसाबले पनि उल्लेखनीय बनेको छ। व्यापारी वर्गको हकहित संरक्षण, नीतिगत सुधार र संस्थागत सुदृढीकरणमा उनले खेलेको भूमिकाले नेपाल व्यापार संघलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्न सकिन्छ।






