प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यहरुको पद तथा गोपनियताको शपथ आज

Photo: Nepal Photo Library

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यहरुको पद तथा गोपनियताको शपथ आज हुने भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यलाई शपथ गराउनुहुने छ ।

प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ । शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ । प्रवक्ता गिरीले भन्नुभयो, “छुटेका सदस्यलाई सभाको अध्यक्षले व्यक्तिगत रूपमा उहाँहरूको अनुकूलताबमोजिम शपथग्रहण गराउनुहुने छ ।”

नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयलाई जानकारी गराएको छ । नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्