काठमाडौँ – संयुक्त राज्य अमेरिका ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि सभापति रवि लामिछाने लाई बधाई दिएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र सभापति लामिछानेबीच हिजो टेलिफोन संवाद भएको थियो। उक्त संवादका क्रममा गोरले चुनावी सफलताका लागि बधाई दिँदै नेपाल-अमेरिका सम्बन्ध र आगामी सहकार्यका सम्भावनाबारे छलफल गर्नुभएको थियो।
दूतावासले जारी गरेको जानकारीअनुसार अमेरिकी सरकारले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक संकेत दिइएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको थियो, जसले नेपालको राजनीतिक परिदृश्यमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ।






