काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ। शपथ ग्रहण कार्यक्रम शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा बिहान सवा ११ बजेका लागि तय गरिएको छ। गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २६५ सांसदमध्ये केसी उमेरका आधारमा ज्येष्ठ सदस्य हुनुहुन्छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नेता केसी समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको हो। ज्येष्ठ सदस्य केसीले भोलि बिहीबार अन्य नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।
यसैबीच, सांसदहरूको शपथग्रहण सम्पन्न भएको भोलिपल्ट अर्थात् चैत १३ गते शुक्रबार बालेन्द्र शाह ले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भइसकेको छ।






