काठमाडौँ – धर्मानन्द जोशीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु गम्भीर विषय भएको बताएका छन्। सुशासनका लागि बलीदान दिएको नवपुस्ताको आन्दोलनको जगमा बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारसमेत अघिल्ला सरकारजस्तै भएको हो कि भन्ने प्रश्न उठेको उनको भनाइ छ।
“छानबिन गर्ने तर प्रतिवेदन गुपचुप राख्ने प्रवृत्तिले अनेक आशंका र उपशंका जन्माएको छ,” उनले भने। जोशीले प्रतिवेदन सार्वजनिक गर्न विभिन्न तहबाट उठिरहेका मागप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै ढिलाइ नगरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग जोडदार आग्रह गरेका छन्।






