काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले गौरीबहादुर कार्की आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु विडम्बनापूर्ण रहेको बताएका छन्। वर्तमान सरकारको नेतृत्व सुशीला कार्की सँग जोडिएको उल्लेख गर्दै प्रतिवेदन गोप्य राखिएकोप्रति आलोचना बढिरहेको उनको भनाइ छ।
महामन्त्री पौडेलले प्रतिवेदन सार्वजनिक नगर्नुले विभिन्न आशंका र उपशंका जन्माएको बताएका छन्। “भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठन भएको आयोगले प्रतिवेदन बुझाइसकेको छ, तर अझै सार्वजनिक गरिएको छैन, जसले अनेक आशंका जन्माएको छ,” उनले भने। प्रतिवेदन सार्वजनिक गर्न के कुराले अवरोध गरिरहेको हो भन्ने प्रश्न उठाउँदै उनले अन्तरिम सरकार आफ्नो कार्यकाल सकिन लाग्दासमेत जिम्मेवारीबाट विमुख भएको आरोप लगाए।
“सरकारको समय सकिन लागेको अवस्थामा पनि प्रतिवेदन सार्वजनिक नगर्नु गम्भीर विषय हो,” उनले भने, “आयोगको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व हो, यसलाई अघिल्ला आयोगहरूजस्तै गुपचुप राखिनु विडम्बना हो।” यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको उनले जानकारी दिए।






