काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। आइतबार ठूलो गिरावट आएको सुनको भाउ आज पुनः घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको थियो, जहाँ एकैदिन १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो।
यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ। आइतबार प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा उतारचढाव देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा पनि परेको देखिन्छ।
हाल अन्तर्राष्ट्रिय बजारको अस्थिरता र विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य घटबढ भइरहेको विश्लेषण गरिएको छ।






