काठमाडौँ – नेपाल व्यापार क्षेत्रमा पहिलोपटक जेनजी पुस्ताका युवा व्यवसायीहरूलाई एकै मञ्चबाट सम्मान गरिएको छ। नेपाल व्यापार संघद्वारा आयोजित नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरपारि विभिन्न क्षेत्रमा सक्रिय, सिर्जनशील र उद्यमशीलता मार्फत पहिचान बनाएका युवा व्यवसायीहरूलाई सम्मान गरिएको हो। नयाँ सोच, नवप्रवर्तन र आत्मनिर्भर व्यवसायिक यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो सम्मान कार्यक्रमलाई नेपालकै व्यापारिक इतिहासमा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष हरि गौतमले युवा व्यवसायीहरू नै देशको आर्थिक मेरुदण्ड बन्ने आधार भएको उल्लेख गर्दै संघले सधैं नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आज सम्मानित भएका यी युवा व्यवसायीहरू भोलिका नेतृत्व हुन्, जसले नेपाली व्यापार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछन्।”
त्यसैगरी नवनिर्वाचित अध्यक्ष गिरिराज पोखरेलले युवाको सक्रिय सहभागिताविना व्यापार क्षेत्रको रूपान्तरण सम्भव नभएको उल्लेख गर्दै संघले अब युवा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हामी पुरानो अनुभव र नयाँ ऊर्जालाई जोडेर अघि बढ्नेछौँ। युवा व्यवसायीहरूको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा संघले ठोस कदम चाल्नेछ।”

सम्मानित हुनेहरूमा प्रविन बगाले (दरौदी फेशन कलेक्सन), डेविट पोखरेल (डेविट टेलर्स), सुजन विष्ट (कनकाई ट्रेडर्स), त्रिभुवन बहादुर शाह (शाह अडर सप्लायर्स), लवदेव भट्ट (इको गार्मेन्ट एण्ड ब्याग म्यानुफ्याक्चरिङ), बलभद्र ढकाल (बीबीडी इम्पोरियम), मनोज तिम्लिसिना (अनिशा इन्टरनेशनल ट्रेडर्स), प्रशंसा आचार्य (तेज एण्ड शोभा लिंक), आचल कुमारी दास (दास कलेक्सन), शर्मिला खड्का (एस एस कलेक्सन), सुवास गौतम (गुराँसे देवी ट्रेडर्स), अस्मिन पराजुली (मिना टेलर्स), मनिका सुवेदी (न्यू मुक्तिनाथ ट्रेड एण्ड सप्लायर्स), भुवन बन्जरा (ओम बन्जरा सप्लायर्स), सम्राट केसी (शुज क्राइब नेपाल), पवन कटुवाल (पूर्वेली सुज उद्योग), प्रज्वल गौतम (एचपी ट्रेड), आरभ अधिकारी (एन आर जे बिजनेस), अंश तामाङ (आशा कलेक्सन), सुजन केसी (सुजन सृजन शिवम रेडिमेड), नविन भट्टराई (कोजा इन्टरप्राइजेज), पृतम राज पाठक (शरद क्राफ्ट क्रिएसन्स), हेमराज कार्की (जयपशुपतिनाथ इन्टरप्राइजेज) र क्षितिज सिंह परियार (मिमाङ फेसन) रहेका छन्।
सम्मान कार्यक्रममा युवा पुस्ताले व्यवसायिक क्षेत्रमा ल्याएको ऊर्जा, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमतालाई उच्च मूल्याङ्कन गरिएको थियो। आयोजकका अनुसार यस्ता पहलले नेपालमा उद्यमशीलताको नयाँ लहर सिर्जना गर्दै युवा नेतृत्वलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।







