सचिव पदमा प्रेम गौतम सर्वसम्मत चयन

काठमाडौँ – नेपाल व्यापार संघको ३४औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट सचिव पदमा प्रेम गौतम सर्वसम्मत रूपमा चयन हुनुभएको छ। युवा व्यवसायी तथा एचपी ट्रेड इन्टरप्राइजेजका सञ्चालक समेत रहेका गौतमलाई सर्वसम्मत रूपमा जिम्मेवारी दिइनु संघभित्र सदस्य केन्द्रित नेतृत्वप्रतिको विश्वासका रूपमा हेरिएको छ।

नवनिर्वाचित सचिव गौतमले आफ्नो भूमिकालाई प्रशासनिक कामकाजमा सीमित नराखी संघलाई अझ सक्रिय, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो “संघलाई देशको नमुना संघको रुपमा स्थापित गर्न हाम्रो टीम लाग्नेछ र म पनि कुनै कसर बाँकि नराखि अघि बढ्नेछु”

उहाँका अनुसार संघभित्र सूचना प्रवाहलाई व्यवस्थित बनाउने, सदस्य व्यवसायीहरूको समस्या समाधानलाई प्रभावकारी बनाउने तथा सबै सदस्यसँग नियमित संवाद कायम गर्ने प्राथमिकता रहनेछ। साथै व्यवसायिक तालिम कार्यक्रम सञ्चालन, सरकारी निकायसँग समन्वय सुदृढ गर्ने र युवा व्यवसायीलाई नेतृत्वमा सहभागी गराउने योजनालाई पनि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो।

गौतमले देशमा पछिल्लो समय देखिएको युवा नेतृत्वले परिवर्तन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरिसकेको उल्लेख गर्दै संघमा पनि त्यही ऊर्जा र सोच आवश्यक रहेको धारणा राख्नुभयो। “अब समय आएको छ युवाले केवल अवसर खोज्ने होइन, जिम्मेवारी लिएर परिणाम दिनुपर्छ,” उहाँले भन्नुभयो।

सर्वसम्मत चयनसँगै गौतमले आफूलाई ‘कार्यमा केन्द्रित, परिणाममुखी र सदस्यमैत्री’ नेतृत्वका रूपमा प्रस्तुत गर्दै सम्पूर्ण सदस्यको विश्वास कायम राख्ने प्रतिबद्धता जनाउनुभएको छ। “सचिव पदको वास्तविक अर्थ केवल कागज होइन, सदस्यको आवाज सुन्ने र काम पूरा गर्ने हो,” उहाँले अन्तिममा जोड दिनुभयो।

शनिवार भएको ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशनबाट अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा मनोनित गरि ९७ सदस्यी कार्यसमिति चयन भएको छ । कुल १०५ सस्यीय कार्यसमितिमा बाँकि सदस्य मनोनित हुनेछन् । जसमा महिला सचिवमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भए भने अन्य सचिवमा प्रेम गौतमसँगै उद्धव प्रसाद गौतम, प्रितम राज पाठक, प्रविन बगाले, रामचन्द्र भुषाल, राजु गौतम, गणेश सिवाकोटी समेत चयन भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्