काठमाडौँ – पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा शनिबार राति भएको टिप्पर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटनामा परी अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन–१० का ३३ वर्षीय राजन चिदीको ज्यान गएको हो।
शनिबार बेलुकी करिब ६ बजेतिर माथागढी–४ झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको खाली टिप्पर खानी नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनापछि घाइते भएका चारै जनालाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते चिदीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर सडकबाट करिब ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।






