काठमाडौँ – सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सांसदहरूको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै त्यसको पाँच/छ दिनभित्र शपथग्रहण गराउने योजना सचिवालयको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आयोगले प्रतिवेदन बुझाएपछि सूचना प्रकाशित गरी शपथग्रहणको मिति तोकिनेछ । शपथग्रहणअघि नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यले पहिले शपथ लिने र त्यसपछि मात्रै अन्य सदस्यलाई शपथ गराइने व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ को धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।
यसैबीच, कानुनविद्हरूले सांसदको शपथग्रहणपछि मात्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली का अनुसार संसद् अधिवेशन आह्वान, सांसदको शपथग्रहण, संसदीय दलको नेता चयन र त्यसपछि मात्रै प्रधानमन्त्री नियुक्ति हुनुपर्ने संवैधानिक प्रक्रिया हो । संविधानको धारा ७६ (१) ले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतसहित सबैभन्दा ठूलो दल बनेकाले सो दलका संसदीय दलका नेता प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । यद्यपि विगतमा शपथअघि नै प्रधानमन्त्री नियुक्त भएका उदाहरणहरू पनि रहेकाले यस विषयमा फरक-फरक व्याख्या देखिएको छ ।






