काठमाडौँ- नेपाली कांग्रेसले गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोरेको पराजयबारे प्रारम्भिक समीक्षा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा पार्टीको चुनावी नतिजा अपेक्षाअनुसार आउन नसक्नुका कारणहरू विश्लेषण गरिएको हो । कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको उल्लेख गर्दै आफ्ना सफल नीतिहरूको प्रभावकारी रूपमा स्वामित्व लिन नसक्नु र विपक्षीको भ्रामक प्रचारको प्रभावलाई समयमै चिर्न नसक्नु प्रमुख कारणका रूपमा औँल्याएको छ । साथै, यसअघिको गठबन्धन सरकारलाई पनि पराजयको एक कारणका रूपमा समीक्षा गरिएको छ ।
बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव समेत पेश गरिएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले थापाको राजीनामा अस्वीकार गर्नुपर्ने पक्षमा मत व्यक्त गरेका छन् । बैठकमा सभापति थापा भने अनुपस्थित रहेकाले उपसभापति शर्माले नै अध्यक्षता गरेका थिए । स्मरणीय छ, थापाले केही दिनअघि नैतिक जिम्मेवारी लिँदै उपसभापति शर्मालाई राजीनामा बुझाएका थिए ।






