काठमाडौँ– सङ्घीय संसद् सचिवालय ले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते तय गरेको छ। सचिवालयले सूचना जारी गर्दै बिहीबार दिउँसो २:०० बजे शपथ ग्रहणका लागि अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको हो। सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन को बहुउद्देश्यीय सभाकक्षमा सञ्चालन हुनेछ। निर्वाचित सदस्यहरूले कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुनुपर्नेछ।
उपस्थित हुँदा निर्वाचन आयोग बाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्नेछ। सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।
त्यसैगरी नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि विशेष व्यवस्था गरिएको छ। त्यस्ता सदस्यहरूले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको प्रतिलिपि शपथ कार्यक्रमभन्दा तीन दिन अगावै संसद् सचिवालयको सम्बन्धित शाखामा बुझाउनुपर्नेछ।
पद्म प्रसाद पाण्डे द्वारा जारी सूचनामा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ-आफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई जानकारी गराइदिन समन्वयका लागि अनुरोध गरिएको छ।







