राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई केन्द्रीय कार्यसमितिको चुनाव स्थगित गर्न निर्देशन दिएको छ। राखेपका सङ्घ-संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राई ले एन्फालाई पत्र लेख्दै चैत १३ गते झापामा हुन लागेको चुनाव तत्काल स्थगित गर्न निर्देशन दिनुभएको हो। राखेपले चुनाव सञ्चालनका लागि आवश्यक स्वीकृति नभएको उल्लेख गर्दै प्रक्रिया रोक्न र तीन दिनभित्र लिखित जानकारी गराउन पनि भनेको छ।
निर्देशनको अवज्ञा गरी चुनाव प्रक्रिया अघि बढाइएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही गरिने चेतावनीसमेत पत्रमा दिइएको छ। यसैबीच पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलाइएको विषयमा अध्यागमन विभाग ले छानबिन सुरु गरेसँगै एन्फाको आयोजनामा सञ्चालन भइरहेको पुरुष तथा महिला दुवै लिग स्थगित भएका छन्।
यस घटनाक्रमले नेपाली फुटबल प्रशासन र प्रतियोगिताको नियमित सञ्चालनमा थप अन्योल सिर्जना गरेको छ।






