काठमाडौँ – एचपी ट्रेड इन्टरप्राइजेजका सञ्चालक समेत रहेका युवा व्यवसायी प्रेम गौतमले नेपाल व्यापार संघको आगामी ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन नजिकिँदै गर्दा सचिव पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई केवल पदको लागि नभई संघभित्रको प्रशासनिक सुधार र सदस्यहरूको आवाजलाई प्राथमिकतामा ल्याउने अभियानको रूपमा प्रस्तुत गर्नुभएको छ।
गौतमका अनुसार सचिव पद केवल कागज मिलाउने वा बैठक सञ्चालन गर्ने काममा सीमित छैन। “सचिव पद संघको धुरी हो, जहाँबाट सबै कामको दिशा तय हुन्छ। मेरो लक्ष्य सदस्य केन्द्रित, पारदर्शी र उत्तरदायी प्रशासन स्थापना गर्नु हो,” उहाँले भन्नुभयो। उहाँले संघको विधानमा टेकेर व्यवसायिक हक हितमा आफु कटिवद्ध भएर लाग्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै अझै परिस्कृत ढंगले सुधार गर्ने, समस्या समाधान प्रक्रियालाई प्रभावकारी बनाउने र सबै सदस्यसँग सक्रिय संवाद कायम गर्ने आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
आगामी कार्यकालका लागि उहाँले केही ठोस योजना पनि अघि सार्नुभएको छ। यसमा सदस्य व्यवसायीका लागि समस्या समाधान प्रणाली विकास गर्नु, व्यवसायिक तालिम कार्यक्रम सञ्चालन गर्नु, सरकारी निकायसँग समन्वय सशक्त बनाउनु तथा युवा व्यवसायीलाई नेतृत्व र संघको गतिविधिमा सहभागी गराउने कार्यक्रम सञ्चालन गर्नु समावेश छ।
गौतमले देशमा हालै देखिएको युवा नेतृत्वले परिवर्तन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्दै संघमा पनि युवाको ऊर्जा, सक्रियता र नेतृत्वको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “अब समय आएको छ युवाले केवल अवसर खोज्ने होइन, जिम्मेवारी लिएर परिणाम दिनुपर्छ। संघभित्र पनि त्यही ऊर्जा र सोच आवश्यक छ।”
उहाँले आफूलाई ‘कार्यमा केन्द्रित, परिणाममुखी र सदस्यमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सम्पूर्ण सदस्यहरूको विश्वास र समर्थनको अपेक्षा गर्नुभएको छ।
नेपाल व्यापार संघको ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशन यहि चैत्र ७ गते शनिवार राष्ट्रिय सभा गृहमा हुने भएको छ । जसमा नयाँ कार्यसमिति समेत चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमको कार्यकाल सकिएसँगै अब नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमले पुनः नदोहरिने घोषणा गरेसँगै नयाँ नेतृत्व आउने पक्कापक्की भइसकेको छ । यस्तै अन्य पदमा पनि युवा नेतृत्वले आकांक्षा देखाएका छन् ।






