काठमाडौँ – नेपाल व्यापार संघको आगामी ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको माहोल तातिँदै जाँदा सचिव पदका लागि प्रविन बगालेले आफ्नो उम्मेदवारीलाई ‘काम गर्ने प्रतिबद्धता’को रूपमा प्रस्तुत गर्नुभएको छ। अरू उम्मेदवारभन्दा फरक ढंगले आफूलाई प्रस्तुत गर्दै बगालेले संघभित्र देखिएका प्रशासनिक ढिलासुस्ती, सूचना अभाव र समन्वय कमजोरीलाई सुधार्नु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो।
उहाँले संघलाई ‘सदस्य केन्द्रित’ बनाउने अवधारणा अघि सार्दै प्रत्येक व्यवसायीको आवाजलाई व्यवस्थित रूपमा संकलन र सम्बोधन गर्ने प्रणाली विकास गर्ने योजना रहेको उल्लेख गर्नुभयो। “व्यवसायीले समस्या बोकेर हिँड्ने होइन, संघले समस्या समाधान गर्ने वातावरण बनाउनुपर्छ,” बगालेको भनाइ छ।
युवा नेतृत्वबारे बोल्दै उहाँले पछिल्लो समय देशमा देखिएको परिवर्तनलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। “आज देशमा युवाले नेतृत्व लिएपछि नयाँ ऊर्जा आएको छ। यसले देखाइसकेको छ युवाले सक्छन्। अब संघभित्र पनि त्यही ऊर्जा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो। आगामी योजनाबारे उनले संघको कार्यप्रणालीलाई डिजिटल र पारदर्शी बनाउने, सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क र सूचना प्रवाह प्रणाली विकास गर्ने तथा सरकारी निकायसँग समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य अघि सार्नुभएको छ। साथै, संघलाई केवल बैठक र कार्यक्रममै सीमित नराखी व्यवसायीको दैनिक जीवनसँग जोडिने संस्था बनाउने उहाँको योजना रहेको छ।
बगालेले आफूलाई ‘बोल्नेभन्दा गर्ने’ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सदस्यहरूसँग प्रत्यक्ष संवाद र विश्वासको आधारमा समर्थन माग्नुभएको छ। नेपाल व्यापार संघको ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशन यहि चैत्र ७ गते शनिवार राष्ट्रिय सभा गृहमा हुने भएको छ । जसमा नयाँ कार्यसमिति समेत चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमको कार्यकाल सकिएसँगै अब नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमले पुनः नदोहरिने घोषणा गरेसँगै नयाँ नेतृत्व आउने पक्कापक्की भइसकेको छ । यस्तै अन्य पदमा पनि युवा नेतृत्वले आकांक्षा देखाएका छन् । वर्तमान अध्यक्ष गौतमको कार्यकाल सफल भएसँगै नेपाल व्यापार संघमा सबैको चासो बनेको छ ।







