हेलिकप्टर दुर्घटना भए पनि ठूलो क्षति हुनबाट बच्यो

PHOTO: NTV

खोटाङ – एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर आज केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। काठमाडौँबाट पाँच यात्रु लिएर दिउँसो १२ बजेर २ मिनेटमा बालाबेँसी पुगेको नाइन एन-एएफक्यू नम्बरको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको दाहिने खुट्टा र आँखामा चोट लागेको छ। चालक क्याप्टेन सविन थापासहित उनलाई अर्को हेलिकप्टरमार्फत तत्कालै काठमाडौँ पठाइएको छ। स्थानीय जनप्रतिनिधिका अनुसार दुर्घटनामा परेका काजीबहादुरलाई हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको थियो। हेलिकप्टरमा सवार अन्य यात्रु भने सकुशल रहेका छन्।

उक्त हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी ७७ वर्षीया मनलक्ष्मी राईका आफन्तहरू अन्त्येष्टिका लागि आएका थिए। मृतकको शव भने स्थलमार्गबाट भोलि बालाबेँसी ल्याइने व्यवस्था गरिएको जनाइएको छ। दुर्घटनापछि चालकले तुरुन्तै इञ्जिन बन्द गरेकाले ठूलो क्षति हुनबाट जोगिएको यात्रु बालकुमार राईले बताएका छन्। “घटना सम्झिँदा सपनाजस्तो लाग्छ, पाइलटले समयमै इञ्जिन अफ नगरेको भए थप क्षति हुन सक्थ्यो,” उनले भने।

कम्पनीका अनुसार क्याप्टेन सविनसँग सात वर्षको उडान अनुभव र एक हजार १०५ घण्टाभन्दा बढी उडान अनुभव रहेको छ। दुर्घटनाको कारणबारे भने हालसम्म स्पष्ट नभएको र सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ। दुर्घटनापछि हेलिकप्टरको पङ्खा र पुच्छर भाग क्षतिग्रस्त अवस्थामा भेटिएको छ। घटनाबारे थप अनुसन्धानका लागि काठमाडौँबाट पुगेको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर फर्किएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्