काठमाडौँ – निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार रामचन्द्र पौडेल समक्ष पेस गर्ने तयारी गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले तयारी पूरा गरेपछि दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइने जानकारी दिएका छन्।
नेपालको संविधानअनुसार अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।
संविधानको धारा ७६ बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ। स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने प्रावधान छ।
यससँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दललाई बाटो खुल्नेछ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको छ। दुई तिहाइ बहुमत नजिक पुगेको रास्वपाले एकल सरकार गठन गर्ने सम्भावना प्रबल देखिएको छ।







