काठमाडौँ – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सुधारिएको छ। नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर २ हजार ८१२ दशमलव ३४ विन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक अन्य समूहका शेयरमा गिरावट देखिएको छ। कारोबारमा संलग्न १३२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११३ वटाको घटेको छ भने १७ वटा कम्पनीको शेयर स्थिर रहेको छ।
आज रिलाइन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इन का शेयर १० प्रतिशतले बढेका छन्। यद्यपि बजार बढेको दिन एनआईसी एशिया ग्रोथ फन्ड–टू को शेयर सबैभन्दा धेरै ४ दशमलव ७४ प्रतिशतले घटेको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो १४ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४० वटा कम्पनीका ३ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ।







