काठमाडौं । भक्तपुरको तेलकोट–नगरकोट सडकखण्डमा ओभरटेकको विषयलाई लिएर दुई जना मोटरसाइकल राइडर (भ्लगर)माथि बीच सडकमै कुटपिट गर्ने कार चालकको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुर का अनुसार कुटपिट तथा अभद्र व्यवहारमा संलग्न व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर फेला परिसकेको छ।
परिसरका प्रवक्ता प्रकाश जबेगु लिम्बु का अनुसार ती व्यक्ति अहिले फरार छन् र प्रहरीले खोजी कार्य तीव्र पारेको छ। “व्यक्ति पहिचान भइसकेको छ, उसको नाम, नम्बर र ठेगाना सबै फेला परिसक्यो। हामी खोजी गर्दैछौँ, अहिले उनी फरार छन्,” लिम्बुले बताएका छन्। सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको हो।
प्रहरीले भने पक्राउ परेपछि मात्रै औपचारिक रूपमा नाम सार्वजनिक गर्ने जनाएको छ। यसबीच टेकपाना ले ओपन सोर्स इन्टेलिजेन्स विधिबाट गरेको अनुसन्धान र स्थानीय व्यवसायीको पुष्ट्याइँका आधारमा ती व्यक्ति भक्तपुरको नगरकोट का अनुप लामा रहेको दाबी गरिएको छ।
भाइरल भिडियो तथा सामाजिक सञ्जालमा रहेका सामग्रीको विश्लेषण गर्दा उनको गेटअप, अनुहारको मिलान (फेसियल रिकग्निसन) र लोकेसनका आधारमा कार चालक लामा नै रहेको पुष्टि भएको दाबी गरिएको छ। यद्यपि लामाको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन स्विच अफ रहेको पाइएको छ।
यसैबीच सामाजिक सञ्जालमा चालक पक्राउ परिसकेको दाबी गर्दै केही ‘एआईबाट सिर्जित’ भिडियो पनि भाइरल भएका छन्। तर प्रहरीले त्यस्ता दाबीको खण्डन गर्दै सम्बन्धित व्यक्ति हालसम्म पक्राउ नपरेको स्पष्ट पारेको छ।







