काठमाडौं – नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल-मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ। त्यस्तै दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेत मा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ र डिजेल–मट्टितेल १५१ रुपैयाँ कायम गरिएको छ।
पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल-मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको जनाएको छ। “यस विषम परिस्थितिबीच बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको हो,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गर्दै उपभोक्तामा पर्ने असरप्रति आफूहरू सचेत रहेको जनाएको छ।







