समानुपातिक सांसदको नाम पठाउने समयसीमा आज सकिँदै, दलहरू अन्तिम तयारीमा

काठमाडौं । निर्वाचन आयोग ले समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम टुङ्गो लगाउन विभिन्न दल गृहकार्यमा जुटेका छन्। ‘थ्रेसहोल्ड’ पार गरेका दलमध्ये प्रत्यक्षतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाएको छ भने नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिस्ट पार्टी ले ९, श्रम संस्कृति पार्टी ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट प्राप्त गरेका छन्।

एमालेले भने हिजै १६ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाउँदै सार्वजनिक गरिसकेको छ। बाँकी पाँच दलले आज अन्तिम निर्णय गरी आयोगमा नाम पेस गर्नुपर्नेछ। समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी बन्दसूचीको क्रमअनुसार आयोगमा नाम बुझाउनुपर्ने व्यवस्था छ। साथै दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था पनि रहेको छ।

यसैबीच रास्वपाले आज बिहान १० बजे सचिवालय बैठक बोलाएको छ भने कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बस्दैछ। नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा पनि समानुपातिक सांसदको नाम टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्