काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूएईले इरानी आक्रमणसँग सम्बन्धित तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा नराख्न त्यहाँ रहेका नेपालीहरूलाई चेतावनी दिएको छ।
भीम मल्ल ठकुरी का अनुसार आक्रमणसम्बन्धी सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्नेहरू धमाधम पक्राउ पर्न थालेपछि यस्तो चेतावनी जारी गरिएको हो। यूएईको Khaleej Times दैनिकका अनुसार अबुधाबी मा मात्रै ४५ जना विदेशी नागरिक पक्राउ परेका छन्, जसमा एक नेपाली पनि रहेको उल्लेख गरिएको छ। यूएईमा यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर गरेमा करिब ४० देखि ८० लाख रुपैयाँ बराबर जरिवाना र एकदेखि दुई वर्षसम्म कैद सजाय हुन सक्ने बताइएको छ।
यसैबीच दुबई, कतार र बहराइन मा पनि यस्तै कारबाही गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरान र इजरायल तथा संयुक्त राज्य अमेरिका बीच बढ्दो तनावका कारण इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र साउदी अरेबिया लगायतका देशमा आक्रमण गरिरहेको बताइएको छ, जहाँ करिब १८ लाख नेपाली कार्यरत छन्।
यस्तै परिस्थितिलाई ध्यानमा राख्दै नेपालको परराष्ट्र मन्त्रालय ले पनि खाडी क्षेत्रमा रहेका नेपालीहरूलाई यस संवेदनशील समयमा संयमित र सचेत रहन अनुरोध गरेको छ।








