काठमाडौँ – फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको पराजयको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित ललितपुरका नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्।
विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा प्रभावकारी भूमिका खेल्नका लागि थापा नै सक्षम नेतृत्व भएको उल्लेख गरिएको छ। जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्ण रूपमा अस्वीकार गर्दै पार्टी सुदृढीकरणका लागि नेतृत्वको निरन्तरता आवश्यक रहेको बताएका छन्।
ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, चिरीबाबु महर्जन लगायतका जनप्रतिनिधि रहेका छन्। सभापति थापा भने सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए।







