काठमाडौँ – बजारमा ग्यासको माग बढेपछि अबदेखि उपभोक्ताले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाउने भएका छन्। नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई आधा सिलिन्डर मात्र ग्यास वितरण गर्ने निर्णय गरेको हो। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार उपभोक्ताको लाइन बढ्नुका साथै ग्यासको माग अत्यधिक भएपछि यस्तो निर्णय गरिएको हो।
निगमका अनुसार पछिल्लो दुई महिनादेखि बजारमा ग्यास पाउन सहज नभएको अवस्था छ। साथै पछिल्ला दिनमा पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण आपूर्ति प्रभावित हुने आशंकामा उपभोक्ताले ग्यास सञ्चय गर्न थालेपछि बजारमा अभावको अवस्था सिर्जना भएको निगमको दाबी छ।
निगमले बजारमा ग्यासको आपूर्ति व्यवस्थापन गर्न तथा सबै उपभोक्ताले ग्यास पाउन सकून् भन्ने उद्देश्यले अस्थायी रूपमा आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरिएको जनाएको छ।







