समानुपातिक मतगणना सकियो, प्रतिनिधिसभामा रास्वपाको १८२ सिट हुने सम्भावना

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित स्पष्ट भएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतको आधारमा थप ५७ सिट पाउने सम्भावना देखिएको छ।

यद्यपि निर्वाचन आयोग ले औपचारिक रूपमा सिट निर्धारण गरिसकेको छैन। आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग फर्मुला’ अनुसार दलहरूले प्राप्त गरेको मतका आधारमा गरिएको प्रारम्भिक गणनामा रास्वपालाई ५७ सिट प्राप्त हुने देखिएको हो।

यदि आयोगले यही संख्या कायम गरेमा रास्वपाको कुल सिट संख्या १८२ पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई तिहाइ बहुमतभन्दा २ सिटले पछि पर्ने देखिन्छ। यद्यपि स्वतन्त्र सांसद महाविर पुन रास्वपाकै समर्थनमा निर्वाचित भएकाले त्यसले बहुमत समीकरणमा प्रभाव पार्न सक्छ।

समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६८१ मत प्राप्त गरेको छ, जुन करिब ४७ प्रतिशतभन्दा बढी हो।

यसपटक समानुपातिकतर्फ ६ वटा दलले मात्र सिट पाउने देखिएका छन्। नेपाली कांग्रेस ले समानुपातिकबाट २० सिट पाउने सम्भावना छ भने प्रत्यक्षमा १८ सिट जितेकाले कांग्रेसको कुल सिट संख्या ३८ पुग्नेछ। कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५४ हजार ५२ मत प्राप्त गरेको छ। अघिल्लो प्रतिनिधि सभामा कांग्रेसको ८९ सिट रहेको थियो।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको कुल सिट संख्या २५ पुग्नेछ। एमालेले समानुपातिकतर्फ १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ, जुन अघिल्लो चुनावको तुलनामा निकै कम हो।

नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकबाट ९ सिट पाउने देखिएको छ भने प्रत्यक्षमा ८ सिट जितेकाले कुल १६ सिट हुने सम्भावना छ। उक्त पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार ५८२ मत प्राप्त गरेको छ।

नयाँ दल श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकबाट ४/४ सिट पाउने देखिएको छ। श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेकाले कुल ७ सिट हुनेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल ५ सिट हुनेछ। श्रम संस्कृति पार्टी चार महिनाअघि मात्र गठन भएको दल हो।

यस चुनावमा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी भने प्रतिनिधिसभामा सिटविहीन भएका छन्। ती दलहरूले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्